काठमाडौं,०५ असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने दाबी गरेका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री पौडेलले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रमहरू अघि सारेको जिकिर गरे। उनले स्टार्टअप प्रवर्द्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्त्वपूर्ण कार्यक्रमहरू प्रस्ताव गरिएको जानकारी दिए।
रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत उनले बताए। पौडेलले युवाहरूलाई देशभित्रै रोक्नका लागि अनेकन् कार्यक्रमहरू अघि सारिएको जानकारी दिँदै दिगो विकास र सोह्रौँ योजनालाई बजेट निर्माणको आधारको रूपमा आत्मसात् गरिएको उल्लेख गरे।

आगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै उनले भने, “अहिले निजी क्षेत्र र सहकारी क्षेत्रले अर्थतन्त्रको शिथिलतालाई चिर्नको निम्ति आगामी आर्थिक वर्षको बजेट उपयोगी हुने टिप्पणी भइरहेको छ।”