काठमाडौं,०६ असार । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकका रूपमा अनुमति लिएर सञ्चालनमा रहेका यी कम्पनीहरूलाई नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै कडा कारबाही गरेको हो।
राष्ट्र बैंकका अनुसार दुबै कम्पनीले भुक्तानी तथा फस्र्योट ऐन, विनियमावली, एकीकृत निर्देशन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विविध प्रावधान उल्लंघन गरेका थिए।
पेवेल नेपाल प्रालिले २०७७ साल असोज ११ गते र सजिलो पे पेमेन्टले २०७७ साल चैत १७ गते भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्न अनुमति पाएका थिए।

राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुवै कम्पनीको अनुमति खारेज गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार अनुमति खारेज गरिएको र सर्वसाधारणलाई जानकारी गराइएको केन्द्रीय बैंकले जनाएको छ।
अनुमति खारेजपछि यी दुई कम्पनीसँग जोडिएका उपभोक्ता तथा व्यवसायहरूले सेवा प्रयोग नगर्न र आवश्यक परेमा विकल्प रोज्न राष्ट्र बैंकले सुझाव दिएको हुन सक्छ।