जनकपुर ,०६ असार । मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले तोकेको कर्जा प्रवाह लक्ष्य लगभग पुरा गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्म कर्जा प्रवाह १२.१७ प्रतिशतले वृद्धि भई कुल ४ खर्ब ८८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
मौद्रिक नीतिले चालु वर्ष निजी क्षेत्रतर्फ १२.५ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राखेको थियो, जसमा मधेस प्रदेशले उल्लेखनीय प्रगति गरेको देखिएको छ।
त्यस्तै, बैंकहरूबाट परिचालित निक्षेप १३.१७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ।

प्रदेशका बैंकहरूबाट कृषि, माछापालन र वन क्षेत्रमा ६४ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको १३.२३ प्रतिशत हो। उद्योगतर्फ प्रवाहित कर्जा पनि उल्लेखनीय रूपमा बढ्दै १ खर्ब २५ अर्ब १३ करोड पुगेको छ। गत वर्ष यो रकम १ खर्ब १२ अर्ब ७४ करोड थियो।
राष्ट्र बैंकको विवरण अनुसार मधेसका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग २७.६६ प्रतिशतमा सीमित छ। खाद्यान्न तथा बाली उत्पादनमा १.४१ प्रतिशत वृद्धि भए पनि मसला र बागवानीतर्फ उत्पादनमा क्रमशः १५.४६ र १.०७ प्रतिशतले गिरावट आएको छ।
पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डा उत्पादनमा क्रमशः ५.२७, १.७१ र २.२० प्रतिशत वृद्धि भएको छ भने माछा उत्पादन पनि ४.१३ प्रतिशतले बढेको छ। वनजन्य उत्पादनमा भने काठ उत्पादनमा ११७.६० प्रतिशत र दाउरा उत्पादनमा ११.८६ प्रतिशत वृद्धि भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालकै कुल उपभोक्ता मूल्यमा आधारित जीडीपी ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ। मधेस प्रदेशको जीडीपी ८ खर्ब ४ अर्ब रहने अनुमान गरिएको छ। आधारभूत मूल्यमा मधेसको जीडीपी ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान छ।
यस प्रदेशको प्रतिव्यक्ति जीडीपी ९३२ अमेरिकी डलर हुने अनुमान गरिएको छ। कृषि, वन तथा मत्स्य क्षेत्र प्रदेशको अर्थतन्त्रको मेरुदण्ड हो भने खानी तथा उत्खनन् क्षेत्रबाट न्यूनतम योगदान रहेको छ।
घरजग्गा रजिस्ट्रेसन संख्यामा १.०७ प्रतिशतले गिरावट आए पनि राजस्व संकलनमा ८.१२ प्रतिशतले वृद्धि भएको छ, जुन सकारात्मक संकेत मानिएको छ।
प्रदेशभित्रका राष्ट्रिय गौरवका आयोजनाहरू निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, द्रुतमार्ग, र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन चरणमा रहेका छन्। तीमध्ये हुलाकी सडक आयोजना सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको बताइएको छ।