जनकपुर,०६ असार । जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पस (राराब) मा प्रवेशपत्र वितरणमा भएको ढिलाइपछि उत्पन्न विवादले स्थिति तनावपूर्ण बनेको छ। विवादका क्रममा दुई विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति मनिष यादव र अर्का नेता चमनप्रसाद गोइत रहेका छन्। बीबीएस तेस्रो वर्षका विद्यार्थीलाई परीक्षा प्रवेशपत्र वितरणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी नेताहरूले क्याम्पस प्रमुख वसन्त कर्णसँग कडा रूपमा आपत्ति जनाएका थिए।
घटनास्थलमा स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरूले प्रहरीसँग समेत अभद्र व्यवहार गरेको धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए। उनका अनुसार झडपका क्रममा प्रहरी निरीक्षक जिवछ सिंहको औंला भाँचिएको छ।

दुई नेताको गिरफ्तारीपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। उनीहरूले क्याम्पस चोकमा सडक अवरोध गर्दै तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
राराब क्याम्पसमा यस वर्ष बीबीएस तेस्रो वर्षमा १,२०० विद्यार्थी परीक्षा दिन लागेका छन्। क्याम्पस प्रमुख वसन्त कर्णका अनुसार प्रवेशपत्र वितरणमा भएको ढिलाइको मुख्य कारण काठमाडौँबाट ढिलो आएको सामग्री हो। उनले प्रशासनले जानाजानी ढिलाइ नगरेको स्पष्ट पार्दै परिस्थिति बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।