बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत कुर्मी हत्या घटनामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा एकै परिवारका पाँच सदस्यसहित एक अन्यलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार ५५ वर्षीय नन्दु राउत कुर्मीको झगडापछि कुटपिट हुँदा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। कुटपिटको घटना कलैया–१४ स्थित उमेश साहको राइस मिल अगाडि भएको थियो।
मृतकका छोरा दिपेन्द्र पटेलको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले मुख्य आरोपी उमेश जैसवालसहित उनका परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा ४० वर्षीय उमेश जैसवाल, उनकी ३५ वर्षीया श्रीमती रञ्जु देवी, छोराहरू अमित , सुमित र सुजित रहेका छन्। त्यस्तै घटनामा संलग्न रहेको आरोपमा ३४ वर्षीय दिगम्बर प्रसाद जैसवाललाई पनि पक्राउ गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार नन्दुले आफ्नी नातिनी र करैयामाई गाउँपालिका–७ निवासी गौतम पासवानबीच भेट गराएका थिए। यही विषयलाई लिएर विवाद सुरु भएको र त्यसको असरमा नन्दुकी श्रीमती र उमेश जैसवालका कान्छा छोरा सुजितबीच भनाभन तथा हातपात भएको थियो। त्यसपछि उमेश जैसवाल र उनका परिवारका सदस्यहरूले मिलमै पुगेर नन्दुलाई कुटपिट गरेका थिए।
प्रमुख अभियुक्त उमेश जैसवाल बिहीबार राति बिश्रामपुर गाउँपालिका–४ को खुदिया टोलबाट पक्राउ परेका हुन् भने अन्य अभियुक्तहरूलाई पनि फरक–फरक स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।