जनकपुर,१७ असार । बर्दिबासको एक मसाज सेन्टरमा राति छापा मार्दा भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बर्दिबास नगरपालिका–१ स्थित बजारमा रहेको रोयल मसाज सेन्टरमा मध्यराति छापा मारिएको हो।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बम नेतृत्वको टोलीले जाँच गर्ने क्रममा प्रहरीसँग दुर्व्यवहार गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्नेमा भारत, बिहारको सितामढीका १९ वर्षीय अतुलकुमार साह र मसाज सेन्टरको जिम्मेवारीमा रहेकी धादिङ रुवीभेली गाउँपालिका–५ की ३१ वर्षीया मिना राना मगर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ।

प्रहरीका अनुसार भारतीय नागरिकहरूले लागूऔषध कारोबार तथा अन्य अवैध क्रियाकलापका लागि बर्दिबासका होटल र मसाज सेन्टरहरू प्रयोग गरिरहेका छन्। साथै, होटलहरूमा अश्लील गतिविधि बढ्दै गएपछि निगरानी र अनुगमनलाई थप कडा बनाइएको प्रहरीले जनाएको छ।