काठमाडौं,१८ असार । अहिले देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश भू-भागमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेकाले मौसम थप आर्द्र र परिवर्तनशील भएको बताइएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, यी प्रदेशका केही पहाडी भू-भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। विभागका अनुसार २४ घण्टामा ५०–१०० मिलिमिटर वर्षा भएमा ‘भारी वर्षा’ मानिन्छ।
त्यसैगरी, देशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षा र कतै-कतै हिमपात हुन सक्ने सम्भावना छ। यात्रु तथा स्थानीयवासीलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।




