रौतहट,१९ असार । राष्ट्रिय अनुसन्धान विभागका एक पूर्वकर्मचारीलाई स्रोत नखुलेको २ लाख ५० हजार नगदसहित रौतहटको गौरबाट पक्राउ गरिएको छ। सशस्त्र प्रहरी बलले हिजो गौर भन्सार कार्यालय अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको BR 30 L 6947 नम्बरको मोटरसाइकलमा सवार राउतलाई गौर भन्सार रोडमा खटिएको सशस्त्र प्रहरीको टोलीले नियमित जाँचका क्रममा रोकेको थियो।
जाँच गर्दा राउतले आफ्नो हेल्मेटभित्र लुकाएर उक्त रकम ल्याएको पाइएको सशस्त्र प्रहरी बल नम्बर ११ गणले जानकारी दिएको छ। बरामद भएको नगद र राउतलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।