हेटौंडा, २८ असार । मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवामा शनिबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका मनहरी–७ बिजौनाका २४ वर्षीय विशाल चेपाङको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट हेटौंडातर्फ जाँदै गरेका ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट गइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा राक्सिराङ–३ केराबारीका १८ वर्षीय दीपक दोङ, उनीसंगै सवार २४ वर्षीय पिटर तामाङ र अर्को मोटरसाइकल चालक मनहरी–६ बिजौनाका २४ वर्षीय निरज राना घाइते भएका छन्। उनीहरूको उपचार हाल मनहरी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको छ।



