काठमाडाैं,३१ असार । अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
सोमबार राति ८ बजे काभ्रेको रोशी गाउँपालिका–११ माम्ती खोलामा माथिबाट आएको भेलले सडक कटान गर्दा सडक दुबै तर्फबाट बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
त्यस्तै, राति ११:३० बजे रोशी–९ पिन्थली सडकखण्डमा खहरे खोलाको लेदो बगेर आएपछि सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ। कार्यालयका प्रमुख सुनिल धाँजुका अनुसार राति नै बिरुवाडाँडामा पनि खहरे खोलाको लेदोले बाटो बन्द भएको छ।
अहिले ट्राफिक प्रहरी, नेपाल प्रहरी र सडक विभागको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। ट्राफिक प्रहरीले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकहरूलाई अनुरोध गरेको छ।




