काठमाडौं,१३ साउन । नेपाल विद्युत प्राधिकरणमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरू लामो समयदेखि बेवास्ता भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। पटक–पटक गरिएको सहमति कार्यान्वयन नहुँदा उनीहरूले केन्द्रीय कार्यालय अगाडि कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।
दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाइमा सुरु भएको यस आन्दोलनमा कर्मचारीहरूले आफूहरूलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्न माग गरेका छन्। प्राधिकरणको सञ्चालक समितिले २०८० साउन ३१ गते बसेको ९४९ औं बैठकमा उक्त निर्णय गरे पनि अझै कार्यान्वयन नहुँदा कर्मचारीहरू आक्रोशित भएका छन् ।
संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत गणेश प्रसाद खतिवडाले भने, “यदि निर्णय कार्यान्वयन गर्न सकिन्न भने, औपचारिक रूपमा निर्णय खारेज गरेर हामीलाई घर फर्काइयोस्।” उनले सबै दैनिक ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने माग पनि राखे ।
कर्मचारीहरूले माग पुरा नभएसम्म काम ठप्प पार्ने र अनिश्चितकालीन धर्ना जारी राख्ने चेतावनी दिएका छन्। आन्दोलन थप चर्किने सङ्केतसमेत दिएका उनीहरूले तत्काल निर्णय कार्यान्वयन गर्न प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।



