पोखरा,१३ साउन । वर्षा र गर्मीको कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र गतिमा फैलिएको छ। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशको तथ्यांकअनुसार यस वर्ष हालसम्म ६५९ जनामा डेंगु पुष्टि भएको छ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगु संक्रमण फैलिएको छ। सबैभन्दा बढी कास्कीमा ३०७ जना, तनहुँमा १०१ जना, लमजुङमा ७७ जना, गोरखामा ४६ जना, स्याङ्जामा २८ जना, बागलुङमा १९ जना, पर्वतमा १७ जना, म्याग्दीमा १० जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४ जनामा संक्रमण देखिएको छ। मुस्ताङ र मनाङमा भने हालसम्म कुनै पनि संक्रमित फेला परेका छैनन्।
यस वर्षको जनवरीदेखि जुलाइसम्मको तथ्यांक हेर्दा जुलाई महिनामा सबैभन्दा बढी १८५ जनामा संक्रमण देखिएको छ। अन्य महिनाहरूमा जनवरीमा ५२, फेब्रुअरीमा ५३, मार्चमा ३४, अप्रिलमा ४०, मेमा ७६ र जुनमा १६९ जनामा डेंगु पुष्टि भएको थियो।
डेंगु संक्रमण लिङ्गको आधारमा हेर्दा ५१.४ प्रतिशत पुरुष र ४८.४ प्रतिशत महिलामा देखिएको छ, भने ०.२ प्रतिशत अन्य लिङ्गका व्यक्तिमा संक्रमण पाइएको छ। उमेरका आधारमा, १ वर्ष मुनिका ९ जना, १ देखि ५ वर्षसम्मका ८२ जना, ५ देखि १४ वर्षसम्मका १०५ जना र १४ वर्षभन्दा माथिका ४१३ जना संक्रमित भएका छन्।
डेंगु रोगको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि साउन महिनाभर अभियान चलाउन अनुरोध गरेको छ। ’लामखुट्टेको लार्भा, खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहितको राष्ट्रिय अभियानलाई प्रदेशका सबै स्थानीय जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन गर्न भनिएको छ। निर्देशनालयले सबै सरकारी, गैर–सरकारी, निजी संस्था र सरोकारवाला निकायहरूलाई डेंगु नियन्त्रण अभियान सफल बनाउन सहयोगको लागि आग्रह गरेको छ।




