बीरगन्ज,१३ साउन । मानवसेवा आश्रम बीरगन्ज शाखाले मानसिक रूपमा असन्तुलित अवस्थामा रहेको एक व्यक्तिको उद्धार गरेको छ। मंगलबार दिउँसो १२:४५ बजे पर्सा जिल्लाको वीरगञ्ज पावर हाउस चोकबाट अन्दाजी ३५ वर्षीय एक पुरुषको उद्धार गरिएको हो।
उद्धार गरिएका व्यक्ति आफनो नाम र ठेगाना भन्न सक्ने अवस्थामा थिएनन्। उद्धारपछि उनलाई तत्काल मानवसेवा आश्रम वीरगञ्ज पुर्याइएको थियो, जहाँ सरसफाइ, नुहाइ–धुहाइ गरी प्रारम्भिक उपचार सुरु गरिएको छ।
मानसिक अवस्था कमजोर रहेका ती व्यक्तिको अवस्था मूल्याङ्कन गर्दै आश्रमका स्वास्थ्य टोलीले डा. भरत गोईज्यूको निगरानीमा औषधोपचार प्रक्रिया अगाडि बढाएको मानवसेवा आश्रमले जानकारी दिएको छ।
उक्त उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव र स्थानिय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




