spot_img

काठमाडौं–तराई द्रुतमार्ग ८९ मध्ये ८५ वटा पुल निर्माण सुरु

spot_img
spot_img

काठमाडौं,१३ साउन । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा उल्लेख्य प्रगति भएको छ। रक्षा मन्त्रालयका अनुसार द्रुतमार्ग अन्तर्गत पर्ने ८९ वटा पुलमध्ये हालसम्म ८५ वटा पुलको निर्माणका लागि खरिद सम्झौता सम्पन्न भइसकेको छ, जसमध्ये ५ वटा पुल निर्माण कार्य पूरा भइसकेका छन्।

रक्षामन्त्री मानवीर राईको नेतृत्वमा गत एक वर्षमा ती ८५ पुलको निर्माण प्रक्रिया अघि बढेको हो। फास्ट ट्र्याक आयोजनाको समष्टिगत कार्ययोजनाअनुसार १३ वटा निर्माण प्याकेजमध्ये १२ वटा प्याकेजको निर्माण कार्य अहिले कार्यान्वयनमा छन्।

प्याकेज नं. १ देखि १० सम्मका साथै ८क, ८ख, ९क, ९ख प्याकेजहरूमा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सुरु बिन्दु रहेको प्याकेज नं. ११ भने अझै खरिद प्रक्रियाको तयारी चरणमा रहेको छ। खोकनास्थित प्रारम्भ बिन्दुमा सडक सुरुआत, सवारी व्यवस्थापन तथा जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपछि निर्माण अगाडि बढाइने मन्त्रालयको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री राई र प्रधानसेनापति अशोकराज सिग्देलबीच पटक–पटक खोकनासम्बन्धी समस्या समाधानका लागि छलफल हुँदै आएको मन्त्रालयले जनाएको छ। रक्षा मन्त्री राई सोमबार खोकना पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन पनि गरेका थिए।

आयोजना अन्तर्गत रहेको ७ वटा सुरुङमध्ये दुई सुरुङ (धेद्रे र लेनडाँडा) मा ब्रेकथ्रु सम्पन्न भइसकेको छ। यी सुरुङहरू मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने प्याकेज नं. २ अन्तर्गत निर्माण भइरहेको हो। बाँकी सुरुङहरू पनि निर्माणको चरणमा रहेका छन्।

रुख कटान र पुनःरोपणमा पनि उल्लेख्य काम भएको छ। हालसम्म ४९,६३४ वटा रुख कटान गरिएका छन् भने त्यसको साटोमा ७ लाख ५ हजार ५५२ बिरुवा रोपिएको रक्षा मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय