बीरगन्ज,१३ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावामा रहेको जनस्वास्थ्य प्रयोगशालाको सेवा विगत तीन महिनादेखि ठप्पप्रायः बनेको छ। मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले समयमै परीक्षणका लागि आवश्यक कीट नपठाएको कारण ल्याबको नियमित सेवा प्रभावित भएको हो।
गत वर्ष प्रदेश सरकारले स्थापना गरेको सो ल्याबमा ४२ प्रकारका परीक्षण हुने व्यवस्था गरिएको थियो। तर, कीटको अभावका कारण हाल केवल ५ प्रकारका परीक्षण मात्र भइरहेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार कीटको आपूर्ति नहुँदा बिरामी र सेवाग्राहीहरूलाई निजी ल्याबमा धाउनुपर्ने बाध्यता छ।
सखुवा प्रसौनी जनस्वास्थ्य ल्याब अत्याधुनिक उपकरण र दक्ष प्राविधिकले सुसज्जित भए पनि सामान्यदेखि दीर्घरोगसम्मको ७५ प्रतिशत सहुलियतमा दिइने सेवा हाल तीन महिनादेखि ठप्पजस्तै छ। ल्याब टेक्निसियन उमाशंकर प्रसादका अनुसार कीट अभावकै कारण आवश्यक परीक्षण हुन नसकेको हो।
“हामीसँग उपकरण पनि छन्, दक्ष जनशक्ति पनि छ,” टेक्निसियन प्रसाद भन्छन्, “तर परीक्षणका लागि प्रयोग हुने कीट नै छैन भने हामीले सेवा कसरी दिन सक्छौं?”
यता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले भने ल्याब प्राविधिकले समयमै कीटको माग नगरेको आरोप लगाएका छन्। “प्रदेश सरकारले कीट पठाएको छैन भन्ने कुरा ठीक हो, तर ल्याबबाट पनि असारअघि नै माग आएको भए हामी व्यवस्थापन गर्न सक्थ्यौं,” रौनियारले भने, “अहिले नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ तर पालिकाको खाता अझै सञ्चालनमा आएको छैन, बजेट छैन, त्यसैले केही गर्न सकेनौं।”
तीन महिनादेखि परीक्षण सेवा बन्द हुँदा स्थानीय बिरामीहरू आर्थिक र मानसिक रूपमा मारमा परेका छन्। सरकारी ल्याबमै सेवा नपाउँदा उनीहरू महँगो शुल्क तिरेर निजी ल्याब जान बाध्य छन्।



