बीरगन्ज,१४ साउन । बीरगन्ज –१७ स्थित अलौंको आइसीपी क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएका मोबाइल पार्ट्ससहित एक भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। बरामद सामानको मूल्य ६ लाख ७७ हजार ६३६ रुपैयाँ बराबरको रहेको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार तस्करीमा प्रयोग गरिएको भारतीय मोटरसाइकलमार्फत उक्त मोबाइल पार्ट्स ल्याइँदै थियो।
बरामद गरिएको सामान र मोटरसाइकललाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी कडा पारेको जनाएको छ।



