बीरगन्ज,१४ साउन । घरपालुवा कुकुर र बिरालोको खानाका रूपमा प्रयोग हुने नेपाली छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा तीव्र गतिमा बढ्दै गएको छ। बीरगन्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २० करोड रुपैयाँ बराबरको ६८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ७६ प्रतिशतले बढी हो। उक्त वर्ष ६८ करोड मूल्य बराबरको ३७५ मेट्रिक टन छुर्पी निर्यात भएको थियो। त्यसअघिको वर्ष २०७९/८० मा २६ करोड ६३ लाख मूल्यको २६८ मेट्रिक टन छुर्पी निर्यात भएको थियो।
इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायतका पहाडी जिल्लामा उत्पादन हुने छुर्पी वीरगन्ज नाका हुँदै अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, फ्रान्स, बेलायत, इटाली लगायत २७ देशमा निर्यात भइरहेको भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले जानकारी दिए। तीमध्ये अमेरिका सबैभन्दा ठूलो बजार बनेको छ।
विदेशमा नेपाली छुर्पीलाई कुकुर वा बिरालोको खाना शीर्षकमा निर्यात गरिन्छ। चौपाया जनावरको हड्डीको साटो छुर्पी नरम, चपाउन सजिलो र स्वादिलो हुने भएकाले कुकुर र बिरालो मालिकहरूले यसलाई रोज्ने गरेका छन्।




