जनकपुर,१५ साउन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकारमा सुचारु (स्मुथ) रूपमा काम गर्न निकै कठिन हुने अनुभव बाँडेका छन्।
नागरिक फ्रन्टलाइनको बुधबारको विशेष शृङ्खलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले गठबन्धनमा सपना र परिणाममुखी योजना कार्यान्वयन गर्न कठिन हुने स्पष्ट पारे।
उनका अनुसार, “गठबन्धन सरकारमा स्मुथली काम गर्न सकिँदैन। संघीय सरकारमा पनि त्यही अवस्था छ, प्रदेश सरकारमा पनि गति त्यहीअनुसार छैन। हामी सहकार्य गरिरहेका छौं, तर पूर्ण सरकार हुँदा मात्र इच्छाअनुसार काम गर्न सकिन्छ।”
मुख्यमन्त्री सिंहले सरकारी कर्मचारीतन्त्रप्रति पनि चिन्ता व्यक्त गरे। उनका अनुसार सरकार परिवर्तनको चर्चा सुरु भएलगत्तै कर्मचारीहरू निष्क्रिय बन्ने प्रवृत्तिले शासन प्रणालीमा गम्भीर असर पर्छ।
“सरकार आए या गयो भन्ने कुरा कर्मचारीलाई महत्व नहुनुपर्ने हो, तर व्यवहारमा त्यो देखिन्न। कर्मचारी भनेको स्थायी सरकार हो, जो सरकारले निर्देशन देओस्, त्यसअनुसार इमान्दारीपूर्वक काम गर्नुपर्छ,” उनले भने।
सिंहले भविष्यमा मधेस प्रदेशको विकास, सुशासन र जनसेवामूलक कामलाई तीव्रता दिनका लागि स्थिर र पूर्ण सरकारको आवश्यकता औंल्याए। “सपना देख्ने मात्रै होइन, ती सपना कार्यान्वयन गर्ने शक्ति र सहमति पनि आवश्यक हुन्छ, जुन गठबन्धनमा अप्ठ्यारो हुन्छ,” उनले बताए।



