काठमाडाैं,१६ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलनप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै यसलाई ‘गतिहीनता’ र ‘सफाया’को संस्कृति हावी भएको आन्दोलनको रूपमा चित्रित गरेका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत डा. भट्टराईले नेपालका कम्युनिस्ट दलहरूले इतिहासबाट सिक्न नसकेको आरोप लगाउँदै, अहिलेको अवस्था सोभियत संघको ब्रेज्नेभकालीन ‘गतिहीन युग’ र स्टालिनकालीन ‘राजनीतिक आतंक’ जस्तै बनेको टिप्पणी गरेका छन्।
“हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट केही सिक्दैनौं,” भन्ने भनाइ उद्धृत गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन विचार र व्यवहार दुवैमा स्खलनतर्फ उन्मुख भएको दाबी गरे।
बारम्बार सत्तामा पुग्दा पनि समाजमा गुणात्मक परिवर्तन ल्याउन असफल भएको कम्युनिस्ट नेतृत्वमाथि कटाक्ष गर्दै उनले समाजवाद र साम्यवादको नारामै सीमित रहेको आलोचना गरे। “नेताहरू गफमा रमाइरहेका छन्, कार्यकर्ता भने दिशाहीन बनेका छन्,” उनले लेखेका छन्।
भट्टराईले पार्टीभित्र आलोचना गर्ने वा फरक मत राख्ने नेतालाई हटाउने प्रवृत्ति बढ्दै गएको बताए। उनले यो प्रवृत्ति स्टालिनकालीन ‘महान् परीक्षण’को सम्झना दिलाउने खालको भएको उल्लेख गरे।
उनले कम्युनिस्ट नेताहरूले आफ्ना आलोचकहरूलाई भौतिक रूपमा नभए पनि राजनीतिक र सांगठनिक रूपमा सफाया गरिरहेको आरोप लगाउँदै यसलाई इतिहासको विडम्बना भनेका छन्।
त्यस्तै, पार्टी र नेतृत्वप्रति भावनात्मक रूपमा बाँधिएका कार्यकर्ताहरूलाई सचेत हुन आग्रह गर्दै उनले भनेका छन्, “आज अरूको बहिष्कारमा ताली बजाउनेहरू, भोलि आफू बहिष्कृत हुँदा एक्लै आँसु झार्नु पर्नेछ।”
भट्टराईले अन्त्यमा नयाँ राजनीतिक सोच र विकल्पको खोजी गर्न सबैलाई आह्वान गरेका छन्। उनका अनुसार, अबको बाटो इतिहासबाट पाठ सिक्दै परिवर्तनको नयाँ सुरुवात गर्नु हो।




