काठमाडौँ,१६ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाले दर्ता गरेको निवेदनमाथि उच्च अदालत काठमाडौंमा सुनुवाइ सुरु भएको छ।
प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा अपिल गरेका थिए। उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सुरु भएको भएपनि समय अभावका कारण पूरा हुन सकेन। त्यसैले सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेर शुक्रबारका लागि पेशी तोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गत जेठ २९ गते दुर्गा प्रसाईँसहित ७ जनालाई राज्यविरुद्धको कसुर र ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
यो मुद्दा सन् २०२५ चैत १५ गते पूर्वराजाको समर्थनमा तीनकुनेमा भएको राजावादी प्रदर्शनसँग सम्बन्धित छ। उक्त प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा सरकारी गाडी तोडफोड, घर आगजनी लगायत अवाञ्छित गतिविधि भएको आरोप छ।
जिल्ला अदालतको पुर्पक्ष आदेशविरुद्ध दुर्गा प्रसाईँ, सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी (सरोज गौतम) ले उच्च अदालतमा ६ असारमा निवेदन दर्ता गरेका थिए।




