चितवन, १६ साउन । चितवनमा डेङ्गु र स्क्रब टाइफसका संक्रमण तीव्र रुपमा फैलिन थालेका छन्। चालु आर्थिक वर्षको पहिलो १५ दिनमा मात्र ५२ जनामा यी सरुवा रोगको संक्रमण देखिएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार, साउन महिनामा ७९८ जनामा गरिएको परीक्षणमा २० जनामा डेङ्गुको संक्रमण पुष्टि भएको हो। तीमध्ये १४ जना चितवन जिल्लाका हुन् भने ६ जना अन्य जिल्लाबाट आएका बिरामी हुन्।
चितवनका विभिन्न स्थानमा डेङ्गु संक्रमण भेटिएको छ भरतपुर महानगरका सातजना, खैरहनी नगरपालिकाका तीनजना, रत्ननगरका दुई र कालिका नगरपालिकाका दुईजनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये पाँच पुरुष र नौ महिला रहेका छन्।
जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार वर्षा र घाम दुवै हुने सिजन (विशेषगरी साउन, भदौ, असोज) लामखुट्टेको प्रजननका लागि अनुकूल हुने भएकाले संक्रमणको जोखिम उच्च हुन्छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुले बिहान र बेलुकाको समयमा बढी सक्रियता देखाउने जनस्वास्थ्य प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।
रुपाखेतीका अनुसार घर वरिपरि जम्मा हुने सफा पानी — प्लास्टिक, ड्रम, टायर, गमला, कुलर वा खुला ट्याङ्कीमा लामखुट्टेले अण्डा फाल्ने भएकाले त्यस्ता स्थानमा पानी जम्न नदिने, सफा राख्ने र टोकाइबाट जोगिने उपाय अवलम्बन गर्नु आवश्यक छ।
डेङ्गुका लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हड्डी, जोर्नी तथा मांसपेशीमा पीडा, रगत बग्ने वा छालामा रातो दाग देखिने लगायत रहेका छन्।
यही अवधिमा चितवनमा अर्को सरुवा रोग स्क्रब टाइफसका ३२ संक्रमित भेटिएका छन्। तीमध्ये २३ जना चितवनका हुन् भने ९ जना अन्य जिल्लाका हुन्। स्क्रब टाइफस मुसामा पाइने माइट (किर्नाजस्तो सानो कीरो) को टोकाइबाट सर्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा सर्दैन।
रुपाखेतीका अनुसार यो रोग ओरेन्टिया सुसुगामुसी नामक ब्याक्टेरियाबाट सर्छ र मुख्यतः झाडी, वन, खेतबारी वा घर वरिपरि फोहर भएका स्थानमा देखिन्छ। स्क्रब टाइफसबाट जोगिन घाँस काट्न वा वनजंगल जाँदा पूरै शरीर ढाक्ने कपडा, जुत्ता प्रयोग गर्न, चउरमा ओछ्यान ओछ्याएर मात्र बस्न र भूइँमा सुत्न नहुने सुझाव दिइएको छ।
यस रोगका लक्षणमा उच्च ज्वरो (१०४°F भन्दा बढी), पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका प्रमुख अंग प्रभावित हुने तथा टोकाइको स्थानमा रातो दाग र पछि कालो देखिने हुन सक्छ।




