काठमाडौं,१६ साउन । चालु वर्षको मनसुन सुरु भएको ६० दिन बित्दासम्म देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कम वर्षाले विशेषगरी मधेस प्रदेश नराम्ररी प्रभावित बनेको छ।
प्राधिकरणले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार जेठ १५ गते (मे २८) बाट सुरु भएको मनसुन करिब तीन सातामा मात्र देशभर फैलिएको थियो। सुरुवाती केही समय सक्रिय देखिएको मनसुन त्यसपछि फितलो बनेको हो। असारको दोस्रो सातासम्म केही प्रभावकारी देखिए पनि त्यसयता वर्षा निरन्तर कम भइरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
कम वर्षाका कारण मधेस प्रदेशमा धान रोपाइँ, सिंचाइ, र पिउने पानीको अभाव देखिएको छ। वर्षा नहुँदा खेत सुक्खा छन् भने जनजीवन प्रभावित बनेको छ। यही कारण असार २६ गते मधेस प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि साउन ७ गते सङ्घीय सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
यसबीच, मनसुनजन्य विपद्का कारण हालसम्म ४३ जनाले ज्यान गुमाइसकेका छन्। बाढी, पहिरो र चट्याङबाट भएको यो क्षति विगत वर्षको तुलनामा भने कम भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार असार २४ गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले ठूलो धनजनको क्षति गरेको छ। बाढीमा परेर २० जना बेपत्ता भएका थिए, जसमध्ये हालसम्म १२ शव तथा मानव अवशेष फेला परेका छन्। तीमध्ये दुईवटा मात्र शवको पहिचान हुन सकेको छ। दुईजना सम्पर्कमा आइसकेका छन् भने नुवाकोटमा फसेका एक दम्पतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
यस्तो अवस्थामा प्राधिकरणले संयुक्त राष्ट्रसंघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, र रेडक्रसजस्ता निकायहरूलाई आफ्ना राहत तथा विकास कार्यक्रमहरू मधेस केन्द्रित गरी पुनरावलोकन गर्न आग्रह गरिसकेको छ।




