बीरगन्ज,१६ साउन । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बारा र पर्साका १२ वटा सामुदायिक विद्यालयलाई ‘नमूना विद्यालय’का रूपमा छनोट गरेको छ। नयाँ शैक्षिक वर्ष २०८२/८३ को कार्यविधिअनुसार छनोट गरिएका यी विद्यालयमा अब डिजिटल प्रविधि, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलकुद, सांस्कृतिक गतिविधि लगायतका पूर्वाधार विस्तार गरिनेछ।
पर्साबाट पाँच विद्यालय छनोट भएका छन्। ती विद्यालयहरूमा बीरगन्ज महानगरको नृसिंह मावि, पोखरिया नगरपालिकाको जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, बहुदरमाई नगरपालिकाको देवनन्दन देवराज मावि, ठोरी गाउँपालिकाको सरस्वती मावि र सखुवा प्रसौनी गाउँपालिकाको दीपनारायण आदर्श मावि रहेका छन्।
यस्तै, बारा जिल्लाबाट सात विद्यालय छनोट भएका छन्। ती हुन्: जीतपुरसिमरा उपमहानगरपालिकाको नेपाल राष्ट्रिय मावि जीतपुर र नेपाल राष्ट्रिय मावि बकुलिया, आदर्शकोतवाल गाउँपालिकाको रामचरित्र मावि जयनगर, निजगढ नगरपालिकाको गौरीशंकर मावि, महागढीमाई नगरपालिकाको गढीमाई महेन्द्र मावि, कलैया उपमहानगरपालिकाको दुर्गा मावि बैरिया र कोल्हवी नगरपालिकाको नेपाल राष्ट्रिय मावि सपही।
मन्त्रालयका अनुसार विद्यार्थी संख्या, नतिजा, समावेशिता, भौतिक पूर्वाधार र व्यवस्थापन जस्ता मापदण्डका आधारमा यी विद्यालयहरू छनोट गरिएको हो।
‘नमूना विद्यालय’ कार्यक्रमअन्तर्गत सरकारले आईसीटी प्रविधिको प्रयोग, डिजिटल कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय र अतिरिक्त क्रियाकलापका पूर्वाधार विकासमार्फत सार्वजनिक शिक्षामा सुधार ल्याउने लक्ष्य लिएको छ।



