बीरगन्ज, १६ साउन । हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित बीरगन्ज महानगरपालिकाले ‘एक घर, एक बिरुवा’ अभियान अन्तर्गत फलफुलका बिरुवाहरू वितरण गर्न थालेको छ।
महानगरको कृषि शाखाले आँप, लिची, कागती, अनार, अम्बा र बेल प्रजातिका करिब ४ हजार ५०० बिरुवा वितरण गर्ने लक्ष्यसहित यो अभियान सुरु गरेको हो। कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार बजार मूल्यको ७५ प्रतिशत अनुदान दिइएको छ, जसअनुसार बिरुवाको मूल्य प्रजाति अनुसार १८ देखि ४२ रुपैयाँसम्म मात्र पर्न आउनेछ।
“घरको आँगन, कौशी वा गमलामा पनि सहजै रोप्न सकिने खालका बिरुवा उपलब्ध छन्,” यादवले जानकारी दिइन्। नागरिकलाई हरियालीप्रति आकर्षित गर्ने उद्देश्यले यस अभियानलाई स्थानीयस्तरमा व्यापक बनाउने प्रयास गरिएको उनको भनाइ छ।
बिरुवा लिन चाहने महानगरवासीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा लिएर जानुपर्नेछ। एक-दुईवटा मात्र बिरुवा चाहिनेले नागरिकताको फोटोकपी लिए पुग्नेछ भने १०–१२ वटा जस्ता धेरै संख्यामा बिरुवा लिन चाहनेले सम्बन्धित जग्गाको लालपूर्जासहित कृषि शाखामा सम्पर्क गर्नु पर्ने यादवले बताइन्।



