बीरगन्ज,१७ साउन । नेपालमा इन्धन ढुवानी प्रणालीलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना सुरु गरिएको छ। अमलेखगञ्ज–लोथर (चितवन) खण्डमा ६२ किलोमिटर लामो पाइपलाइन बिछ्याउने काम अघि बढाइएको हो।
नेपाल आयल निगमले राप्ती नगरपालिका–१, लोथरमा फिल्ड कार्यालय स्थापना गरी परियोजनाको काम प्रारम्भ गरेको जनाएको छ। यस चरणमा अत्याधुनिक सुविधा भएको “ग्रीन फील्ड टर्मिनल” निर्माण गरिनेछ, जसका लागि झन्डै २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा पूर्वाधार विकास हुनेछ।
पाइपलाइन भारतको मोतिहारीस्थित आइओसी डिपोबाट सुरु भएर अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म फैलिनेछ। १०.७५ इन्च व्यासको पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको सिधा पम्पिङ हुनेछ। नेपाल आयल निगमका परियोजना प्रमुख प्रदीपकुमार यादवका अनुसार सबै कागजी प्रक्रिया पूरा भइसकेको छ र सडक निर्माण तथा समन्वयको काम आजदेखि नै सुरु गरिएको छ।
परियोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी सम्भव हुने बताइएको छ। पाइपलाइनमार्फत प्रतिघण्टा २७३ किलो लिटर इन्धन आपूर्ति गर्न सकिने क्षमता हुनेछ। साथसाथै, मिसावट, चोरी तथा ट्रान्सपोर्ट खर्चमा समेत उल्लेखनीय कमी आउने निगमको विश्वास छ।
निगमका उपनिर्देशक रामहरि निरौलाले ट्याङ्कर ढुवानीको विकल्प पाइपलाइनले दिँदै गएको बताए। पाइपलाइनसहितको सम्पूर्ण भण्डारण संरचनामा करिब १४ अर्ब ९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
लोथरमा निर्माण हुने डिपोमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनका लागि छुट्टाछुट्टै विशाल ट्याङ्की निर्माण हुनेछन्। यसमा पेट्रोलका लागि ११ हजार किलोलिटरका तीन ट्याङ्क, डिजेलका लागि १५ हजार ५०० किलोलिटरका तीन ट्याङ्क, मट्टीतेलका लागि आठ सय किलोलिटरका दुई ट्याङ्क तथा हवाई इन्धनका लागि ३ हजार ६ सय किलोलिटरका तीन ट्याङ्क निर्माण हुनेछन्। साथै, दुईवटा ट्रान्समिक्स ट्याङ्क पनि स्थापना गरिनेछ।
स्थानीय जनप्रतिनिधि तथा राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनको गौरवको परियोजनाको रुपमा यसले विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।



