spot_img

मधेसमा खडेरी पीडित किसानका लागि १८ करोडको स्यालो ट्युबवेल कार्यक्रम सुरु

spot_img
spot_img

जनकपुर,१७  साउन । मधेस प्रदेश सरकारले खडेरीको समस्या झेलिरहेका किसानका लागि राहतस्वरूप १८ करोड रुपैयाँको लागतमा स्यालो ट्युबवेल वितरण गर्न सुरु गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सुरु गरिएको यो योजना प्रदेशका आठ जिल्लामा लागू हुनेछ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लाका किसानलाई लक्षित गरी सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत ट्युबवेल वितरणको प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए।

उनका अनुसार प्राथमिकताको आधारमा कुल १,२०० वटा स्यालो ट्युबवेल वितरण गरिनेछ। हरेक ट्युबवेल जडानमा एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ, जुन पानीको सतह अनुसार घटबढ हुन सक्छ। यदि सोलार प्रणाली पनि जडान गर्ने हो भने लागत अझै बढ्ने मन्त्रालयले जनाएको छ।

वितरणका लागि हालै सात दिनको सूचना प्रकाशित गरिएको छ। इच्छुक किसानले कम्तीमा दुई बिघा खेतीयोग्य जमिन रहेको प्रमाणसहित लालपुर्जा सम्बन्धित कृषि ज्ञान केन्द्रमा बुझाउनुपर्नेछ।

मन्त्रालयका अनुसार हालसम्म पानीको अभावका कारण मधेस प्रदेशमा धान खेती ५० प्रतिशतमै सीमित भएको छ। स्यालो ट्युबवेलले सिंचाइ समस्या समाधान गर्दै उत्पादन बढाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय