काठमाडौं, १७ साउन । बहुविवाहलाई कानुनी मान्यता दिने तयारी भइरहेको भन्दै विरोधमा उत्रिएकी बिनु यादव माइतीघर मण्डलामा आमरण अनशनमा बसिरहेकी छन्। शुक्रबारदेखि अनशन थालेकी यादवले आफू उठ्ने भनेको अब लासमै मात्र हुने चेतावनी दिएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नयाँ कानुनी मस्यौदामा, विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राखी सन्तान जन्मिएमा त्यो सम्बन्धलाई कानुनी रूपमा दोस्रो विवाह मानीने व्यवस्था प्रस्ताव गरिएको छ। यही प्रावधानले महिलाको हक–अधिकारमा प्रहार हुने भन्दै यादवको अनशन सुरु भएको हो।
अनशनस्थलमै पत्रकारहरूसँग बोल्दै उनले भनिन्, “सरकारले यस्तो कानून पारित ग–यो भने मेरो लास यहाँबाट उठ्छ। जबसम्म यो खारेज हुँदैन, तबसम्म म यहाँबाट उठ्दिन। यो मस्यौदा महिलामाथि हिंसा, पीडा र अन्याय गर्ने कानुनी व्यवस्था हो, जसलाई हामी स्वीकार गर्न सक्दैनौं।”
उनको अनुसार, यस्तो कानुनले विशेष गरी दूरदराज र पहुँचविहीन महिलाहरूलाई सबैभन्दा बढी असर पार्नेछ। उनले आत्महत्या, पारिवारिक विखण्डन र मानसिक पीडालाई झनै बढाउने खतरा रहेको बताइन्।
“कसैले आफ्ना श्रीमान् अर्की महिलासँग बसेको सहन सक्दैनन्। आत्महत्यासम्मका घटना हुनेछन्। यसको जिम्मेवारी को लिने? कानुन बनाउने सचिवले आफ्नो छोरीमा यस्तो नियम लागू गरेर देखाउन सक्छन्? जनतालाई प्रयोगशाला बनाउन पाइँदैन,” यादवले भावुक हुँदै भनिन्।
उनले यो लडाइँ केवल आफूको लागि नभइ, सम्पूर्ण महिलाका लागि भएको स्पष्ट पारिन्। “म एक जनाको अनशन हो तर यो आवाज लाखौं महिलाको हो,” उनले भनिन्।
यसैबीच, सामाजिक संजालमा पनि बहुविवाहलाई कानुनी ढोका खोल्ने गरी आएको मस्यौदाको व्यापक आलोचना भइरहेको छ। महिलामाथि हिंसाको ढोका खोल्ने भन्दै विभिन्न अधिकारकर्मी र संगठनहरूले विरोध जनाइरहेका छन्।
यता, सरकारले भने मस्यौदा परिमार्जनको प्रक्रियामा रहेको र छलफलपछि मात्र निर्णय लिइने जनाएको छ। तर बिनु यादवजस्ता पीडित महिलाहरूको अनुभव र आवाजलाई समेटेर मात्र कानुन निर्माण गरिने हो भने मात्र यस्तो विवादित कानुनी मस्यौदाले ठाउँ पाउने छैन भन्ने अपेक्षा जनाइएको छ।





