spot_img

राहत प्याकेजबिना सुख्खा क्षेत्र घोषणा सरकारको हावादारी कदम : प्रभु साह

spot_img
spot_img

कलैया,१८ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेर पनि राहत प्याकेज ल्याउन नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन्। उनले यस्तो घोषणालाई हावादारी र जनताको पीडामा थप चोट दिने कदमको संज्ञा दिए।

बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आजपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, “सरकारले मधेसमा जलसंकटको वास्तविकता बुझ्ने प्रयास गरेजस्तो देखिएको छ, तर पीडितलाई राहत नदिएर सरकार जनताको भावनासँग खेलिरहेको छ।”

मधेसका आठ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणासँगै तत्काल राहत प्याकेज आउनुपर्ने उनको माग थियो। तर अहिलेसम्म कुनै योजना नआएकोप्रति उनले गम्भीर आपत्ति जनाए। “के सरकारको काम घोषणा मात्रै हो? जनता तड्पिरहेका छन्, खेतबारी सुकिरहेका छन्, तर सरकारले केही पनि गरिरहेको छैन,” साहको आरोप छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही हप्ता अघि हेलिकप्टरमार्फत निरीक्षण गर्दै मधेसमा ५ सय डिपबोरिङ गाड्ने घोषणा गरेका थिए। तर साहले त्यो घोषणालाई पनि ‘हावादारी गफ’ मात्र भने। “ती डिपबोरिङ कहाँ छन्? कहिले गाडिने? योजना छ? बजेट छ? कसैलाई केही थाहा छैन,” उनले प्रश्न गरे।

अध्यक्ष साहले सरकारलाई चेतावनी दिँदै भने, “मधेसी जनतासँग यस्तो मजाक नहोस्। राहत प्याकेज ल्याउनुहोस्, डिपबोरिङ गाडी पानीको स्थायी समाधान खोज्नुहोस्।” उनले यो संकटलाई केवल राजनीतिक नौटंकीको विषय बनाउने हो भने जनताले समयमै उत्तर दिने चेतावनीसमेत दिए।

कार्यक्रममा आजपा बाराका अध्यक्ष राजकिशोर साह, केन्द्रीय सदस्य अशोक लामा, त्रिभुवन साह, उमेश कुशवाहालगायतको सहभागिता थियो। उनीहरूले पनि जलसंकटले मधेसका किसानदेखि सर्वसाधारण सबैलाई मारमा पारेको जनाउँदै तत्काल राहत र दीर्घकालीन समाधान माग गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय