spot_img

सोमबार यी जिल्लाका नदीहरूमा आकस्मिक बाढीको जोखिम

spot_img
spot_img

काठमाडौं,१९ साउन । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्रको नजिक उत्तरतर्फ सरेको हुँदा देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरू, साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षा मापन गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानको मापनमा कर्णाली र महाकाली नदीको बहाव सतर्कता सीमामा पुगेको छ भने कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव भने सतर्कता तहभन्दा तल छ।

तर, मौसम पूर्वानुमान अनुसार सोमबार दिनभरका लागि केही साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना उच्च देखिएको छ। सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुम पश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लाबाट बहने साना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र मध्यम तहको आकस्मिक बाढी आउन सक्ने जोखिम छ।

यस्तै, इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेल्धुरा, बैतडी लगायत जिल्लाहरूमा बहने साना नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

विभागले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन, नदी किनार नजिक जान नहुन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक बाहेकका गतिविधि जोखिमयुक्त क्षेत्रमा नगर्नसमेत अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय