नवलपरासी,२० साउन । लगातारको वर्षासँगै आएको पहिरोका कारण बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्र २४ घण्टादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पहिरो, हिलो र चिप्लोपनका कारण यातायात ठप्प बनेको हो।
दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै निर्माणाधीन पुलको आडैमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले निरन्तर पानी परिरहेको हुँदा ग्राभेल राखेर मर्मत प्रयास गर्दा पनि सडक सञ्चालनमा ल्याउन नसकिएको जानकारी दिए।
सडकमा हिलो र चिप्लोपनका कारण फसेका सवारी साधन हटाउन कठिनाई भएको र यात्रु तथा चालकहरू सडकमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको भए पनि मौसमले काममा अवरोध पुर्याइरहेको छ।
दाउन्ने पहाडमा सडक विस्तारका क्रममा भू–कटान तीव्र गरिएकाले सामान्य वर्षातले पनि यस क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको स्थानीय बताउँछन्। यही कारणले वर्षा भइरहँदा यो खण्ड बारम्बार अवरुद्ध हुने गरेको हो।
उता, मुग्लिन–नारायणगढ सडक खण्डमा हाल समस्या नरहे पनि पहिरोको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।




