spot_img

वर्तमान सरकार पाप लुकाउने संयन्त्र मात्रै हो : संघीय लोकतान्त्रिक मोर्चा

spot_img
spot_img

रुपन्देही,२१ साउन । संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई “अप्राकृतिक र पाप लुकाउने संयन्त्र”को संज्ञा दिँदै तीव्र आलोचना गरेका छन्। बुधबार रुपन्देहीको सियारीमा आयोजित जनजागरण अभियानअन्तर्गतको कार्यक्रममा उनीहरूले राज्यसत्ताबाट मधेश अझै टाढा रहेको गुनासो गरे।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हालको सरकार जनचाहनाविपरीत गठबन्धनबाट बनेको दाबी गर्दै भने, “यो सत्ता जनताको होइन, देश लुट्न र पाप ढाकछोप गर्न बनाइएको हो।” उनले रुपन्देही–३ को उपनिर्वाचनलाई २०८४ सालको चुनावको पूर्वतयारी र मधेशी जनताको अधिकारको परीक्षा भएको बताए।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राज्य सबै नेपालीको भए पनि तराई–मधेशको सत्ता पहुँचबाट बहिष्कृत भएको बताए। उनले चुरे क्षेत्रको विनाशलाई सभ्यताको विनाशको रूपमा चित्रण गर्दै चुरे संरक्षणमा कानुनको नाममा भइरहेको खेलवाड सह्य नहुने बताए।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारु र मधेसी समुदायबीचको ऐक्यबद्धता उल्लेख गर्दै उपनिर्वाचनलाई ‘विश्वास र जागरणको परीक्षा’को रूपमा लिन आग्रह गरे।

मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले तत्कालीन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेश आन्दोलनले ल्याएको परिवर्तनलाई भुल्न नहुने भन्दै उत्पीडित समुदायबीच एकता आवश्यक भएको बताए।

लोसपा नेतासमेत रहेका प्रदेश मन्त्री सन्तोष पाण्डेले संघीय लोकतान्त्रिक मोर्चाका साझा उम्मेदवारलाई उपनिर्वाचनमा जिताउन आफूहरूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत विभिन्न ठाउँमा समान मुद्दा उठाउँदै सरकारप्रति असन्तुष्टि प्रकट गर्ने र आगामी राजनीतिक रणनीति तय गर्ने कार्य भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय