बीरगन्ज,२३ बीरगन्जकाे आदर्शनगर रंगशालामा पूर्वाधार स्तरोन्नतिको काम अघि बढाइएको छ। हालै संयोजकको जिम्मेवारी पाएका गोपाल प्रसाद खेतानले शुक्रबार प्राविधिक टोलीसहित रंगशालामा लेबलिङ कार्य प्रारम्भ गरेका हुन्। साथै, घाँस सरसफाईको काम समेत एकसाथ सुरु गरिएको छ।
संयोजक खेतानले रंगशालामा छिट्टै फोर टोलाइट जडान गरिने जानकारी दिएका छन्। “हाम्रो लक्ष्य यो रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्नु हो,” उनले भने, “पूर्वाधार तयार भएपछि राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्न सकिनेछ।”
स्थानीय खेलकर्मीहरू खेतानको नेतृत्वमा रंगशालाको व्यवस्थापन थप व्यवस्थित हुनेमा आशावादी देखिएका छन्। उनीहरूको धारणा अनुसार पूर्वाधार सुधारसँगै खेलाडीहरूको क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पर्नेछ र यसले क्षेत्रीय तथा राष्ट्रिय खेलकुद विकासमा टेवा पुर्याउनेछ।
खेलप्रेमीहरू विश्वास गर्छन् कि आवश्यक तयारी पूरा भएपछि आदर्शनगर रंगशाला नेपालको एक महत्वपूर्ण खेलस्थलका रूपमा स्थापित हुनेछ।




