काठमाडौँ,२३ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टीबाट गरिएको विद्रोहको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई कडा जवाफ दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोहको कदम सही र आवश्यक भएको प्रष्ट पारे।
नेपालले पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालप्रति संकेत गर्दै पार्टीको विद्रोहमाथि सार्वजनिक रूपमा प्रश्न गर्नु अनुचित भएको बताए। “विद्रोह गलत लाग्छ भने केपी ओलीको सेवा गरेर बस्ने विकल्प मात्र बाँकी रहन्थ्यो,” अध्यक्ष नेपालले कटाक्ष गर्दै भने, “हामीले त्यो बेला संविधान बचाउन, पार्टीको असली मार्ग सही पार्न विद्रोह गरेका हौँ।”
उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गर्दै संविधानविपरीत संसद् विघटन गरेपछि विद्रोह गर्नु अपरिहार्य थियो। “ओलीले दुईपटक संसद् भंग गरे, हामी चुप लागेर बस्नुपर्ने? कि चाकरी गरेर त्यहीँ बसिरहनुपर्ने?” उनले प्रश्न गरे।
नेपालले एमालेमा रहेका र पछि पुनः फर्किएका नेताहरूको हालको अवस्था दुर्गति भएको भन्दै उदाहरणका रूपमा उल्लेख गरे। “कतिपय साथीहरू फर्किए, अहिले तिनीहरूको कस्तो कन्तविजोग छ भन्ने सबैले देखेकै कुरा हो,” उनले भने।
कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको प्रतिष्ठामा आँच आउने खालका अभिव्यक्तिबाट टाढा रहन आग्रह गरे। उनले मिडियामा आएर पार्टी निर्णयको विरोध गर्नु अनुशासनविपरीत भएको बताए। “पार्टीको हितमा काम गर्नुपर्छ, विरोध गरेर होइन। अनुशासन पालना अनिवार्य छ,” नेपालले स्पष्ट गरे।
उनको भनाइमा एमाले छाड्नु कुनै रहर होइन, बाध्यता थियो। “हामीले कम्युनिस्ट आन्दोलनलाई बद्नाम हुनबाट जोगाउन नयाँ पार्टी गठन गरेका हौँ,” अध्यक्ष नेपालले दाबी गरे।




