काठमाडौँ,२७ साउन । भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन गठन नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाए। रास्वपा सांसद शिशिर खनालले छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्ने चेतावनी दिँदै, मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको दाबी गर्दै छानबिनको माग दोहोर्याए।
राप्रपा सांसद विना लामाले पनि सोही माग दोहोर्याउँदै छानबिन समिति बन्ने सुनिश्चित नभएसम्म आफ्नो पार्टी बैठकमा सहभागी नहुने र बहिष्कार गर्ने दिनको भत्ता नलिने बताए।
दुवै दलका सांसदहरूले मन्तव्य दिएपछि बैठक कक्षबाट बाहिरिए। गत जेठ १३ देखि दुवै दलले भिजिट भिसा सेटिङ प्रकरणमा विशेष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विरोध जनाउँदै आएका छन्।




