काठमाडौं,०९ भदौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा गिरावट जारी रह्यो। नेप्से परिसूचक १८.०२ अंकले घटेर २,७३९.९५ बिन्दुमा ओर्लिएको छ। यसअघि गएको बुधवार ९.७० र बिहीबार ९.२२ अंकले नेप्से घटिसकेको थियो।
समूहगत विश्लेषणमा उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको सूचक घटेको छ। सबैभन्दा बढी विकास बैंक समूहको सूचक १.६९ प्रतिशतले ओरालो लाग्यो। कम्पनीगत हिसाबमा ४१ कम्पनीको मूल्य बढ्दा २०८ कम्पनीको मूल्य घटेको छ। यद्यपि, विकास हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको थियो।
नेप्सेमा गिरावट आएपनि आज कारोबार रकममा केही सुधार देखिएको छ। आइतबार १ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कारोबार रकमको आधारमा हिमालयन डिष्ट्रिलरी, नेपाल रि–इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहे।
नेप्से पछिल्लो एक महिनादेखि निरन्तर ओरालोमा छ। साउन ११ मा ३,००० बिन्दुमा पुगेको नेप्से त्यसयता सुधार लिन सकेको छैन। साताको सात कारोबारी दिन सुधारको प्रयास भए पनि लगानीकर्ताको उत्साह बढ्न नसक्दा बजारमा गिरावट रोकिएको छैन। बैंकको ब्याजदर घट्दा र लगानी बढ्दा पनि लगानीकर्ताले सकारात्मक संकेत नदिँदा बजार अझै साइडवेज ट्रेन्डमै रहेको विश्लेषकहरूले बताएका छन्।



