रौतहट,०९ भदाै । रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र मृत फेला परेकी २६ वर्षीया रुवी शाह सुडीको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति रिक्सा चालक भएको पुष्टि भए पनि प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन। प्रहरी अनुसन्धान अनुसार शव व्यवस्थापन गर्न उक्त रिक्सा प्रयोग भएको आशंका छ।
भदौ ७ गते राति गौर नगरपालिका–२ मा बस्दै आएकी रुवी मृत अवस्थामा भेटिएकी थिइन्। माधवनारायण नगरपालिका–६ निवासी र भारतमा विवाह गरेकी उनको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धान तीव्र पारिएको छ।
“धेरैसँग सोधपुछ भइरहेको छ, हामी हत्याराको नजिक पुगेका छौँ,” जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। प्रहरी स्रोतका अनुसार रिक्सा चालकको बयानले वास्तविक हत्यारासम्म पुग्न सहयोग गर्ने विश्वास गरिएको छ।



