बीरगन्ज, १० भदौ । बीरगन्ज महानगरपालिका–२० हरपतगञ्जमा ठेकेदारले सुरु गरेको सडक र नालाको काम महिनौंदेखि अलपत्र परेपछि स्थानीयवासी आक्रोशित भएका छन्।
वडाध्यक्ष रामकिशोर सिंह परागका अनुसार, पप्पुरस्वच्छन्द जेभीले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयसँग ठेक्का लिएर सुरु गरेको निर्माण कार्य ३–४ महिनादेखि रोकिएको छ। सडक र नाला निर्माणका लागि खनिएका खाल्डामा पानी जमेर दुर्गन्ध फैलिएको छ भने लामखुट्टे बढ्न थालेपछि डेंगु, हैजा, झाडापखाला जस्ता संक्रामक रोगको उच्च जोखिम उत्पन्न भएको छ।
सोमबार वडाध्यक्ष परागसहितका स्थानीय अगुवाले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्य पुनः सुरु गराउन माग गरेका छन्।





