वीरगंज, १० भदौ – गृह मन्त्रालयले प्रशासनिक सेवा जनमैत्री बनाउन देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । यस अन्तर्गत पर्साको पोखरिया नगरपालिकामा पनि कार्यालय स्थापना हुने भएको छ ।
नयाँ कार्यालय स्थापनाले पोखरिया तथा आसपासका स्थानीयलाई अब नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता सेवाका लागि वीरगंज धाउनुपर्ने बाध्यता हट्नेछ । हालसम्म पर्साका ९ वटा स्थानीय तहका बासिन्दा जिल्ला प्रशासन कार्यालय, वीरगंज पुग्नुपर्ने अवस्थाले समय र खर्च दुवैमा बोझ बढाउँदै आएको थियो ।
पोखरियामा कार्यालय स्थापना भएपछि स्थानीयलाई ठुलो सहज हुने अपेक्षा गरिएको छ । स्थानीय नेता नेजामुदिन समानीले यस निर्णयलाई ऐतिहासिक कदम भन्दै खुसी व्यक्त गरे । उनका अनुसार, लामो संघर्षपछि अब नागरिकले गाउँमै आवश्यक प्रशासनिक सेवा पाउनेछन्, जसले समय र खर्च दुवै बचत गर्नेछ ।
यस्तै, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार गुप्ताले कार्यालय स्थापनाले सेवाग्राहीलाई ठूलो राहत पुग्ने उल्लेख गर्दै भने, “वीरगंज जाँदा यातायातदेखि खानापानमा हजारौँ खर्चिनुपर्थ्यो, कहिलेकाहीँ दुई दिनसम्म पनि खर्चिनुपर्ने हुन्थ्यो । अब सेवा गाउँमै पाइने भएपछि समय र पैसा दुवै जोगिनेछ ।”
मन्त्रालयले जनघनत्व, भौगोलिक अवस्था, पहुँचको कठिनाइ र जनअपेक्षा आधार मानेर यो प्रस्ताव अघि सारेको हो । कार्यान्वयनमा आएपछि करिब तीन लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने गृह मन्त्रालयको अनुमान छ ।




