काठमाडौँ,११ भदौ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने माग गर्दै जाग नेपाली समूहले बुधबार बानेश्वरमा प्रदर्शन गरेको छ। समूहले नेपाली भाषा र लिपि संरक्षणको आवश्यकता औँल्याउँदै, अंग्रेजी भाषामा नम्बर प्लेट लेख्नुले नेपाली भाषाको सम्मानमा असर पुर्याएको आरोप लगाएको छ।
भाषाविद्हरूले पनि देवनागरी लिपिको साटो अंग्रेजीलाई प्राथमिकता दिइएकोमा आपत्ति जनाएका छन्। उनीहरूको प्रश्न छ, “नेपालमा चल्ने सवारी साधनमा अंग्रेजी किन?” भाषाविद्हरूको अनुसार यसले नेपाली भाषा समाप्त पार्ने प्रयास गरेको हुन सक्छ।
यसअघि, काठमाडौं महानगरपालिका–३ का भरतकुमार बस्नेतले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट वितरण रोक्न र देवनागरीमा लेखिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर २०७६ मंसिर २७ मा संवैधानिक इजलासले उक्त रिट खारेज गरिसकेको थियो।
यातायात व्यवस्था विभागले अदालतमा जवाफ दिंदै भनेको थियो कि डिजिटल प्रविधिबाट इम्बोस्ड नम्बर प्लेट मुद्रण गर्दा देवनागरी अक्षरहरूको आकारमा असमानता आउँछ, जस्तै ह्रस्व, दीर्घ, तर्कुला, बर्दनेरआकार आदि। साथै, नेपाल–भारत क्रस बोर्डर एग्रिमेन्टअनुसार सवारी साधन भारतमा पनि सञ्चालन हुने भएकाले अंग्रेजी अक्षर प्रयोग गर्नु आवश्यक भएको विभागको दाबी थियो।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाले भनेको छ कि, “अंग्रेजी अक्षरको नम्बर प्लेट हुँदा नेपालमा आउने विदेशी पर्यटकलाई बुझ्न सरल र सहज हुन्छ। अन्य देशमा प्रचलनमा रहेका इम्बोस्ड नम्बर प्लेटको स्वरूपलाई आधार मान्दै जडान प्रक्रिया सुरु गरिएको हो।”



