बीरगन्ज,११ भदौ । नेपाल र भारतबीच जनस्तरको सम्बन्ध राम्रो भए पनि सरकारी स्तरमा सम्बन्ध कमजोर हुनाले द्विदेशीय व्यापारले अपेक्षित सफलता पाएको छैन भन्ने चिन्ता व्यक्त गरिएको छ। यो कुरा नेपाल–भारत आर्थिक साझेदारी सम्मेलनमा सरोकारवालाहरूले बुधबार वीरगन्जमा बताएका हुन्।
सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले भने, “नेपाल–भारत व्यापारमा नीतिगत सुधारको आवश्यकता छ। मालवस्तु निर्यात–आयात गर्दा भारतीय पक्षबाट आउने अवरोधले नेपाली उद्योगी व्यवसायी लामो समयदेखि समस्या भोग्दै आएका छन्।” उनले जनस्तरको सम्बन्ध राम्रो भए पनि दुबै देशबीच सरकारी सम्बन्ध कमजोर हुनुले व्यापारमा बाधा पुगेको औँल्याए।
आयोजक संघका सचिव अभिषेक चौधरीले दुई देशबीच सार्वजनिक साझेदारी निर्माणमा जोड दिएका छन्। उनले बीरगन्जलाई मात्र प्रवेशद्वार नभई साझा समृद्धिको पूर्वाधार बनाउनुपर्ने बताए।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतमले भने, “भारत र नेपालले जलविद्युत्, कृषि, पर्यटन लगायतका क्षेत्रमा साझेदारी गरेर ठूलो लाभ लिन सक्ने सम्भावना छ। अयोध्याबाट आउने धार्मिक पर्यटकमध्ये केहीलाई जनकपुरसम्म ल्याउन सकिएमा नेपालको पर्यटनले ठूलो फड्को मार्नेछ।”
प्रमुख अतिथि मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले अवैध तस्करी र कम लगानीले व्यापार सम्बन्धमा असर परेको बताए। उनले भने, “जलस्रोत र पर्यटनमा सहकार्य गर्दा दुवै देशको आर्थिक समृद्धि सम्भव छ।”
बीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले नेपालले जलविद्युत् उत्पादनमा ध्यान दिनु आवश्यक रहेको र भारतसँगको व्यापारलाई प्राथमिकतामा राख्नु पर्ने सुझाब दिइन्। उनले भारतले आफ्नो विकास अनुभव नेपालसँग साझेदारी गर्न इच्छुक रहेको पनि जनाइन्।




