बीरगन्ज,११ भदौ । पर्साका स्वरा झा (गौतम स्कुल) र सारा श्रेष्ठ (नेशनल इन्फोटेक कलेज) प्रतिष्ठित ‘माइक अप’ अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको सेमिफाइनल चरणमा भाग लिन थाईल्याण्ड उडेका छन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्याब्सन पर्साका जिल्ला कार्यसमिति सदस्य सुशील केसीले दुवै छात्रालाई ढाका टोपी र नेपालको झण्डा ओढाएर बिदाई गर्दै सफलताको शुभकामना दिएका थिए। छात्रासँगै गौतम स्कूलका शिक्षक एल्बिन रेन्जरलाई पनि बिदाई गरिएको थियो।
नेपालमा भएको प्रारम्भिक चरणको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यी दुई छात्राले आगामी भदौ ११–१५ सम्म थाईल्याण्डको बैंककमा आयोजना हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।
सारा श्रेष्ठ, बीरगन्ज–३ निवासी, नेशनल इन्फोटेक कलेज कक्षा १२ मा अध्ययनरत, सिनियर विधामा छनौट भएकी छन्। उनका अभिभावक राजबहादुर श्रेष्ठ र सिता थापा श्रेष्ठ हुन्। स्वरा झा, बीरगन्ज–१२ निवासी, गौतम स्कुल कक्षा ९ मा अध्ययनरत, जुनियर विधामा छनौट भएकी हुन्। उनका अभिभावक रविन्द्र झा र अनामिका झा हुन्।
सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरे उनीहरूले चीनमा हुने फाइनल चरणमा सहभागिता जनाउने अवसर पाउनेछन्।




