जनकपुर, १२ भदौ । मधेश प्रदेशसभाको छैटौँ अधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ। मधेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बैठक आह्वान गरेकी हुन्।
प्रदेशसभा सचिवालयले बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ र सदस्यहरूलाई सूचना समेत पठाइसकिएको छ। तर, अधिवेशन सुरु हुनुअघि नै प्रमुख प्रतिपक्षी दल र अन्य विपक्षी दलहरूले सदन अवरोधको चेतावनी दिएका छन्। उनीहरूले सरकारले माग सम्बोधन नगरी अर्थमन्त्रीमार्फत बजेट प्रस्तुत गरेको भन्दै अर्थमन्त्रीको राजीनामा माग गर्दै आएका छन्।
यसैबीच, सहमति खोज्ने प्रयासस्वरूप सभामुख रामचन्द्र मण्डलले बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका छन्।
पहिलो दिनको बैठकमा विभिन्न दलका नेताहरूको शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा विषयगत समितिहरूका प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
मधेश प्रदेशसभा गठन भएदेखि पहिलो पटक महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश हुँदैछ, जुन प्रदेशको उत्तरदायित्व र वित्तीय पारदर्शिताका दृष्टिले महत्वपूर्ण मानिएको छ।




