काठमाडौं,१२ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब अस्ट्रेलियातर्फ सिधा उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया जाने उडान सुरु गर्ने तयारी गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयरलाइन्सले आवश्यक अनुमति मागिसकेको छ र प्रक्रिया पूरा भएपछि उडान सुरु हुने छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि नियमित उडान सुरु गर्ने योजना बनाएको जनाएको छ।
“पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडानबारे छलफल भइरहेको छ। प्रक्रिया पूरा भएपछि छिट्टै उडान तालिका सार्वजनिक गरिनेछ,” अधिकारी भूलले बताए।
अस्ट्रेलियातर्फको यो उडान सुरु भएमा पोखराबाटै आवतजावत गर्ने यात्रुहरूलाई ठूलो सहजता पुग्ने विश्वास लिइएको छ। यसअघि सिचुवान एयरलाइन्सले पोखरामा केही चार्टर्ड उडान गरिसकेको थियो।
यसैबीच, भूटान एयरलाइन्सले पनि पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टसम्म चार्टर्ड उडान सुरु गर्ने तयारी गरिरहेको छ। एयरलाइन्सले सेप्टेम्बर २८ र अक्टोबरमा केही चार्टर फ्लाइटका लागि अनुमति मागेको छ।
हाल पोखरा विमानस्थलमा नियमित रूपमा हिमालय एयरलाइन्स मात्र उडान गरिरहेको छ, जसले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं रुटमा हप्तामा एकपटक सेवा दिइरहेको छ।
सिचुवान र भूटान एयरलाइन्सको उडान सुरु भएमा पोखरा विमानस्थल थप सक्रिय बन्ने र यात्रुहरूलाई नयाँ गन्तव्यहरूमा सहज पहुँच हुने प्राधिकरणको विश्वास छ।



