काठमाडौं,१२ भदाै । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सालसम्म वर्तमान सरकारभन्दा स्थिर र शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन्।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएका विकृति सुधार गर्ने काम सुरु गरेको दाबी गरे।
उनका अनुसार स्थिर सरकार भएकै कारण कानुनी सुधार सम्भव भएको छ भने लगानीकर्ताको मनोबल पनि बढेको छ। “काँग्रेस–एमालेको शक्तिशाली सरकार छ, यो संसदबाट यसभन्दा बलियो सरकार सम्भव छैन,” उनले भने, “२०८४ सम्म अर्को स्थिर शक्तिशाली सरकारको कल्पना गर्न सकिँदैन।”
अर्थमन्त्री पौडेलले योजना निर्माण र बजेट विनियोजनमा अझै समस्या रहेको स्वीकार गर्दै प्राथमिकता–आधारित योजना मात्र प्रभावकारी हुने बताए। चालु आर्थिक वर्षको बजेट योजना बैंक बाहिर रहेर ल्याइएको भन्दै उनले अब सुधारको प्रयास भइरहेको स्पष्ट पारे।




