बीरगन्ज,१२ भदाै । पर्सा र बीरगन्ज क्षेत्रमा हैजाको संक्रमण फैलिँदै गएपछि छिमेकी बाराको फेटा गाउँपालिकाले पनि रोग नियन्त्रणका लागि सक्रिय अभियान थालेको छ। गाउँपालिकाले उच्च जोखिमको आकलन गर्दै घर–घरमा पुगेर स्वास्थ्य सचेतना फैलाउने कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीका अनुसार हैजा रोकथामका लागि व्यक्तिगत र संस्थागत दुवै तहमा सतर्कता आवश्यक छ। व्यक्तिगत स्तरमा सुरक्षित खानेपानीको प्रयोग, खानापछि र दिसापछि साबुनपानीले हात धुने, राम्ररी पकाएको खाना मात्र खाने, पानीको भाँडा वा ट्यांकी ढाकेर राख्ने र वरिपरि सफा राख्नुपर्नेमा उनले जोड दिए।
संस्थागत रूपमा सुरक्षित खानेपानी आपूर्ति सुनिश्चित गर्न, सरसफाइ व्यवस्थापनमा कडाइ गर्ने र सामुदायिक स्तरमै जनचेतना फैलाउने काम भइरहेको छ। गाउँपालिकाले स्वास्थ्यकर्मीलाई बस्तीबस्तीमा परिचालन गरी हैजाबारे जानकारी दिन, दूषित खाना–पानी नखान र फलफूल–तरकारी राम्ररी धुने सन्देश प्रवाह गर्न थालेको छ।
हैजाका लक्षणहरू—जस्तै अचानक कडा पखाला, बान्ता र शरीर कमजोर हुने अवस्था देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न र जीवनजल सेवन गर्न आग्रह गरिएको छ।
अध्यक्ष अंसारीले भने, “गर्मी र वर्षायाममा हैजासहित झाडापखाला फैलने सम्भावना धेरै हुन्छ। गाउँपालिकाले युद्धस्तरमै सचेतना अभियान थालेको छ तर प्रत्येक नागरिकले पनि आफ्नो स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिनुपर्छ।”



