जनकपु,१२ भदौ । मधेश प्रदेशसभाको बिहीबारको बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन्। बैठकमा प्रतिपक्षले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गर्दै विरोध जनाएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअषिश यादवले भने, “प्रदेश सरकारले संसदलाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ। उहाँले राजीनामा नदिँदा बैठक निरन्तर अवरुद्ध हुनेछ।”
सभामुख रामचन्द्र मण्डलले अवरुद्ध बैठकलाई अघि बढाउन आग्रह गरे पनि प्रतिपक्षी सांसदहरूले त्यसलाई मान्ने गरेका छैनन्। सो कारण बैठकलाई शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दलहरू जसपा, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी, र राप्रपाले बहिष्कार गरेका थिए। बिहानको सर्वदलीय बैठक पनि यी दलहरूले बहिष्कार गरेका थिए।
सरकारले मधेश प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक ४६१ पृष्ठको मात्र भएको थियो। तर, प्रतिपक्षले अवरुद्ध गरेपछि गठन भएको कार्यदलले संसदलाई छलेर ३५ पृष्ठको बजेट ल्याएको भेटिएको छ। यसअघि सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गराएको हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग प्रतिपक्षी दलको केन्द्रमा रहेको छ।



