बीरगन्ज,१३ भदौ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा शुक्रबार बिहान बीरगन्जस्थित नारायणी अस्पताल पुगेका छन्। उनले अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका हुन्।
भेटका क्रममा महामन्त्री थापाले बिरामी र उनीहरूको परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने र संक्रमितहरूको उपचारलाई प्राथमिकतामा राख्न सरकार गम्भीर हुनुपर्ने सुझाव दिए।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार, थापाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हैजाको भ्याक्सिन शीघ्र उपलब्ध गराउने र अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्न पहल गर्ने आश्वासन दिएका छन्।
नारायणी अस्पतालको तथ्यांकअनुसार, शुक्रबारसम्म पर्सा जिल्लामा १५२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ।




