काठमाडौँ,१३ भदौ । महान् चाड दसैँ नजिकिँदै जाँदा आन्तरिक हवाई यात्राका टिकट मूल्य आकाशिएको छ। काठमाडौँबाट बाहिर जाने यात्रुको चाप बढेसँगै दुर्गमदेखि सुगम गन्तव्यसम्मका टिकट मूल्य सामान्य भन्दा झण्डै दोब्बर पुगेका छन्।
वायुसेवा कम्पनीका अनुसार अहिले विभिन्न गन्तव्यतर्फका करिब ४० प्रतिशत टिकट बुक भइसकेका छन्। तुम्लिङटार, लुक्ला, सिमकोट, डोल्पा, रुम्जाटार, भोजपुर र खानीडाँडा जस्ता दुर्गम गन्तव्यमा त महँगो शुल्क तिरेर पनि टिकट पाउन मुस्किल भएको छ।
बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्ण भन्छन्, “दसैँ आउन करिब एक महिना बाँकी रहँदै सुगम गन्तव्यतर्फका ४० प्रतिशत उडान बुक भइसकेका छन्। तुम्लिङटारतर्फका सबै टिकट बिक्री भइसकेका छन्।”
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरका अनुसार, दसैँ लक्षित यात्राका करिब ५० प्रतिशत टिकट पहिले नै होल्ड वा बुक भइसकेका छन्। उनले भने, “वायुसेवा प्राधिकरणले तोकेको अधिकतम दरभित्रै टिकट राखिन्छ। तर माग बढेसँगै सस्तो दरको टिकट छिट्टै सकिन्छ र यात्रु महँगो टिकट किन्न बाध्य हुन्छन्।”
दुर्गम विमानस्थलमा जहाजको सङ्ख्या सीमित भएकाले टिकट पाउन झन् कठिन बनेको छ भने सुगम गन्तव्यहरू — विराटनगर, भैरहवा, जनकपुर, नेपालगन्ज र धनगढी तर्फ पनि यात्रुहरूलाई सामान्य भन्दा धेरै भाडा तिर्नुपर्ने अवस्था आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, हवाई टिकटको मूल्य वायुसेवा सञ्चालन लागत, इन्धन मूल्य, इन्जिन मर्मत र प्रशासनिक खर्चको आधारमा तोकिएको दरभित्रै तय गरिन्छ। “२०७३ सालदेखि लागू गरिएको न्यूनतम र अधिकतम मूल्यसीमाभित्र रहेर दर निर्धारण गर्न पाइन्छ, तर तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही हुन्छ,” उनले चेतावनी दिए।



