बीरगन्ज, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बीरगन्जमा हैजाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन सक्दो पहल गर्ने बताएका छन्।
शुक्रबार हैजा र झाडापखालाका बिरामीको अवस्था बुझ्न नारायणी अस्पताल पुगेका थापाले त्यसपछि सरोकारवालासँगको छलफलमा बोल्दै, “हैजा विरुद्ध भ्याक्सिन आवश्यक परे विश्व स्वास्थ्य संगठन र संघीय स्वास्थ्य मन्त्रालयसँग तत्काल समन्वय गरी सञ्चालनका लागि पहल गर्छु,” भन्ने प्रतिबद्धता जनाए।
उनले कोरोनाकालमा भन्सार परिसरमा निर्माण गरिएको होल्डिङ सेन्टर आवश्यक परे प्रयोगमा ल्याउनेतर्फ पनि पहल गर्ने आश्वासन दिए। साथै, नारायणी अस्पतालले हैजा तथा झाडापखालाका बिरामीलाई निःशुल्क र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए।
नारायणी अस्पतालको ५०० शय्याको भवन अझै निर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गर्दै थापाले काम प्राविधिक कारणले अड्किएकोमा चिन्ता व्यक्त गरे। “हाम्रै दलका नेता स्वास्थ्य मन्त्री हुनुहुन्छ। मैले पहिलो दिनमै नारायणी अस्पतालको भवन निर्माणलाई प्राथमिकतामा राख्न सुझाव दिएको थिएँ,” उनले भने।
अस्पतालमा सरसफाइको अवस्था सुधार गर्न व्यवस्थापनलाई आग्रह गर्दै थापाले, “म स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताल सफा राख्न नसकेको स्वीकार्छु। अहिले हैजाको प्रकोप फैलिएको बेला नारायणी अस्पतालमा सरसफाइलाई अझ प्राथमिकतामा राख्न आवश्यक छ,” भने।
यसअघि उनले अस्पतालमा भर्ना भएका हैजा तथा झाडापखालाका बिरामीलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।





