जनकपुर, १३ भदौ । प्रतिपक्षी दलको विरोधका कारण मधेश प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित भएको छ।
शुक्रबार छैटौँ अधिवेशनको दोस्रो बैठक सुरु हुँदै गर्दा प्रतिपक्षी दलले उठेर विरोध जनाएका थिए। नेकपा (माओवादी केन्द्र) का सांसद जवाहरलाल कुशवाहाले बजेट असमान र बिचौलियाको प्रभुत्वमा आएको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा माग गरे। उनले भने, “बजेट ल्याउने प्रक्रियामा वित्तीय अनुशासन उल्लङ्घन भएको छ, त्यस कारण हामीले राजीनामा माग गरेका छौँ। राजीनामा नआएसम्म सदन अवरुद्ध गर्नेछौँ।”
सत्तापक्षका नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले भने सरकार र अर्थमन्त्रीको बचाउ गर्दै प्रतिपक्षले समाधान खोज्न नचाहेको आरोप लगाए। उनले सर्वदलीय बैठकमा छलफल गर्न आग्रह गर्दै भने, “झगडा अन्त्य हुन्छ, तर रगडा कहिल्यै अन्त्य हुँदैन। सकारात्मक सोच लिएर आउनुपर्छ।”
सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गरेको थियो। प्रदेशसभामा चार सय ६१ पृष्ठको रेडबुक प्रस्तुत गरिएको भए पनि पछि कार्यदलले सात सय ५५ पृष्ठको रेडबुक भएको फेला पारेको थियो। प्रतिपक्षले चार सय ६१ पृष्ठलाई मात्र मान्यता दिन र बाँकी योजनालाई खारेज गर्न माग गर्दै आएको थियो।



